images
images

शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै सांसद अमरेशकुमार सिंहको विरोध

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद अमरेशकुमार सिंहले शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै सरकारको आलोचना गरेका छन्।

रास्वपा नेतृत्वको सरकारद्वारा प्रस्तुत बजेटमाथि बिहीबार राजस्व र व्यय शीर्षकमाथि छलफल गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको अवस्थामा त्यसमा कर लगाउनु गलत भएको तर्क गरे।

संसदमा बोल्दै सिंहले भने, “म संविधानको हस्ताक्षरकर्ता हुँ। संविधानमा शिक्षा र स्वास्थ्य मौलिक अधिकार हो। त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाइँदैन।”

उनका अनुसार निजी विद्यालय र निजी स्वास्थ्य संस्थामाथि करको प्रभाव नभई सामान्य विद्यार्थी र सर्वसाधारणमा भार परेको छ।

अर्थमन्त्रीप्रति कटाक्ष गर्दै उनले बूढानीलकण्ठ विद्यालयमा अध्ययन गरेका विज्ञ अर्थमन्त्रीबाट शिक्षा क्षेत्रमा सुधार हुने अपेक्षा भए पनि त्यो पूरा नभएको टिप्पणी गरे।

सिंहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनेतर्फ ठोस नीति नआएको भन्दै सातै प्रदेशमा गुणस्तरीय शैक्षिक तथा स्वास्थ्य संस्था विस्तार गर्ने अपेक्षा पूरा नभएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्