images
images

कांग्रेसको मौनधारणप्रति सभामुख अर्यालको आपत्ति, ‘सदनको अपमान भयो’

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसले आफैँ समय निर्धारण गरेर मौनधारण गरेको विषयमा सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन्। उनले उक्त कार्य संसद्को मर्यादा र प्रक्रियाविपरीत भएको भन्दै सदनको अपमानका रूपमा टिप्पणी गरेका हुन्।

बैठकमा कांग्रेस सांसदहरूले शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पाँच मिनेट मौनधारण गरेका थिए। त्यसपछि सभामुख अर्यालले संसद्को कार्यसञ्चालन निर्धारित प्रक्रिया र अध्यक्षको निर्देशनअनुसार हुनुपर्ने उल्लेख गर्दै दलहरूले एकल निर्णय गरेर सभा सञ्चालन गर्न नहुने बताए।

सभामुख अर्यालले भने, “हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफ्नै विवेक प्रयोग गर्नुभयो। आफैँले समय तोकेर जुन किसिमको प्रयास गर्नुभयो, यो सभामाथिको अपमान भएको देखिन्छ। आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गर्न चाहन्छु।”

उनले संसद्को गरिमा, अनुशासन र स्थापित अभ्यासलाई सबै राजनीतिक दलले सम्मान गर्नुपर्नेमा जोड दिँदै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सचेत रहन आग्रह गरे।

सभामुखको उक्त अभिव्यक्तिपछि संसद्को कार्यसञ्चालन प्रक्रिया र संसदीय मर्यादाबारे पुनः बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्