काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नियमानुसार बेड संख्याका आधारमा तिर्नुपर्ने शुल्क नबुझाएका ११ वटा स्वास्थ्य संस्थाबाट रु १ करोड ७८ लाख ८४ हजार असुल गर्ने निर्णय गरेको छ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता कायम गर्ने उद्देश्यसहित बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाएको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयलाई सम्बोधन गर्दै शुल्क नतिर्ने स्वास्थ्य संस्थामाथि आवश्यक कारबाही र रकम असुली प्रक्रिया सुरु गरिएको मन्त्रालयको भनाइ छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन्। उनले स्वास्थ्य संस्थाहरूले कानुन तथा मापदण्डअनुसार आफ्ना दायित्व पूरा गर्नुपर्ने उल्लेख गर्दै नियमविपरीत हुने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारिन्।
मन्त्रालयका अनुसार बक्यौता रकम असुलीसँगै स्वास्थ्य संस्थाको नियमनलाई थप प्रभावकारी बनाइने तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अनुगमन प्रणालीलाई समेत सुदृढ गरिनेछ।
प्रतिक्रिया दिनुहोस्