काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशनअन्तर्गत ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। बाँकी १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको पार्टीले जानकारी दिएको छ।
रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन आयोजना गरेको थियो। पहिलो चरणमा ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने दोस्रो चरणमा सुरु भएका अधिकांश जिल्लाले पनि नयाँ नेतृत्व चयन गरिसकेका छन्।
पार्टीका प्रवक्ता मनिष झाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। केही जिल्लामा भने निर्वाचन प्रक्रिया जारी रहेको, जबकि केही स्थानमा सहमति र प्राविधिक कारणले प्रक्रिया स्थगित वा पुनः व्यवस्थापन गरिएको उनले बताए।
मधेस प्रदेशका केही जिल्लामा अधिवेशनपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ भने केही जिल्लामा अधिवेशन अझै हुन बाँकी रहेको जनाइएको छ।
रास्वपाले जिल्ला अधिवेशनपछि अब प्रदेश अधिवेशनलाई प्राथमिकता दिएको छ। पार्टीको प्रदेश अधिवेशन कार्यक्रम यही जेठ २६ गतेदेखि सुरु हुने तालिका छ। पहिलो चरणमा बागमती प्रदेशको अधिवेशन आयोजना गरिनेछ।
जिल्ला र प्रदेश तहको संगठन निर्माणलाई तीव्र बनाउँदै रास्वपा आगामी असार ७ देखि ९ गतेसम्म हुने पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना हुने तय गरिएको छ।
पार्टी नेतृत्वले जिल्ला अधिवेशनबाट संगठन विस्तार, नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशा तय गर्ने आधार तयार भएको जनाएको छ। रास्वपाले महाधिवेशनमार्फत संगठनात्मक संरचनालाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस्