images
images

परराष्ट्रमन्त्री खनालको भारत भ्रमण : सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल भएको छ। वर्तमान सरकार गठनपछि मन्त्री खनालको यो पहिलो औपचारिक भारत भ्रमण हो।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका खनालले शनिबार समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए। वार्तामा व्यापार, पारवहन, ऊर्जा, विकास साझेदारी, सम्पर्क सञ्जाल विस्तार तथा जनस्तरीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै डिजिटल प्रविधि, नवप्रवर्तन र स्टार्टअप क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पूरा भएकोमा स्वागत गर्दै सीमापार अपराध नियन्त्रणमा यसले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

भेटवार्तापछि भारतले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजना नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

यस्तै, सीमापार डिजिटल भुक्तानीलाई सहज बनाउन भारतको युपिआई र नेपालको एनपीआईबीीच ‘पियर–टु–पियर’ प्रणालीको शुभारम्भ गरिएको छ। यसले दुवै देशका नागरिकबीच डिजिटल कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा ‘इन्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच भाषा प्रविधि तथा डिजिटल पूर्वाधार विकाससम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।

भारत भ्रमणका अवसरमा मन्त्री खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले नेपाल–भारतबीचको उच्चस्तरीय संवादलाई निरन्तरता दिनुका साथै व्यापार, विकास र जनस्तरीय सम्बन्धका क्षेत्रमा नयाँ अवसर सिर्जना गरेको छ। दुवै देशले आगामी दिनमा बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्