काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न राजनीतिक विवादबीच अभिनेता राजेश हमाल ले सामाजिक सञ्जालमार्फत नेतृत्व र राज्य सञ्चालनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनको टिप्पणीलाई कतिपयले प्रधानमन्त्री शाहप्रति अप्रत्यक्ष आलोचनाका रूपमा व्याख्या गरेका छन्।
हालैको उक्त अभिव्यक्तिपछि देशको राजनीतिक माहोल तातेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइलाई कूटनीतिक रूपमा अपरिपक्व र विवादास्पद भन्दै आलोचना गरिरहेका छन् भने विभिन्न क्षेत्रबाट पनि मिश्रित प्रतिक्रिया आइरहेका छन्।
यसै सन्दर्भमा हमालले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि हुनुपर्नेमा जोड दिएका छन्। उनले त्यस्ता गुणहरूको अभावमा राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
हमालले आफ्नो भनाइमा भनेका छन्, “आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।”
उनका अनुसार सीमा विवादलाई एउटै दृष्टिले हेर्न नहुने भन्दै उनले ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक विषय भएको स्पष्ट पारेका छन्।
उनले सीमापार अतिक्रमण प्रायः स्थानीय नागरिकको आवत–जावत, खुला सीमा, नदीको धार परिवर्तन, सीमा स्तम्भ हराउने वा बस्ती विस्तारजस्ता कारणले हुने उल्लेख गर्दै यस्ता समस्या संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिने बताएका छन्।
तर राज्य–प्रायोजित भू–अतिक्रमण भने कुनै राष्ट्रले विवादित भूभागमा योजनाबद्ध रूपमा नियन्त्रण विस्तार गर्ने अवस्था भएको उनको भनाइ छ। यसअन्तर्गत सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन, सरकारी नक्सा परिवर्तन र राज्यको अधिकार लागू गर्ने कार्य पर्ने उनले उल्लेख गरेका छन्।
हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई यस प्रकारको राज्य–प्रायोजित भू–अतिक्रमणको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनको यो अभिव्यक्तिलाई प्रधानमन्त्री बालेन शाह को हालैको विवादास्पद भनाइप्रति अप्रत्यक्ष प्रतिक्रिया र आलोचनाका रूपमा विभिन्न कोणबाट विश्लेषण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्