काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न ९८ क्षेत्रमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार स्युचाटार सबस्टेशनमा मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा बन्द गरिनेछ। १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना, मातातीर्थअन्तर्गत सञ्चालन हुने उक्त कार्यका कारण स्युचाटार र टेकु सबस्टेशनबाट आपूर्ति हुने विभिन्न फिडर प्रभावित हुनेछन्।
विद्युत् कटौतीबाट कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रअन्तर्गतका क्षेत्रहरू प्रभावित हुनेछन्। कलंकी, बल्खु, कुलेश्वर, नैकाप, सतुङ्गल, स्वयम्भू, छाउनी, रविभवन, कीर्तिपुर, चोभार, त्रिभुवन विश्वविद्यालय क्षेत्र, न्युरोड, सुन्धारा, असन, इन्द्रचोक, टेकु, थापाथली, माइतीघर, पुल्चोक, झम्सीखेल, सानेपा, कुपण्डोल, भैंसेपाटी, नख्खु र बागडोललगायतका स्थानमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार स्युचाटार सबस्टेशनको क्षमता तथा विश्वसनीयता अभिवृद्धि गर्न आवश्यक प्राविधिक कार्य गरिन लागिएको हो। यस क्रममा उपत्यकाका केही अन्य क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् आपूर्तिमा असर पर्न सक्ने बताइएको छ।
मौसम प्रतिकूल भएमा वा प्राविधिक कारणले काम प्रभावित भएमा विद्युत् अवरुद्ध हुने समय परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ। साथै निर्धारित अवधिभित्र काम सम्पन्न गरी यथाशीघ्र विद्युत् आपूर्ति सुचारु गर्न प्रयास गरिने उल्लेख गर्दै सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमा मागिएको छ।






प्रतिक्रिया दिनुहोस्