काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा आफ्ना भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्धका पारस्परिक हितका विविध विषयमा छलफल हुनेछ। विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहयोग तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित भएर विचार–विमर्श हुने कार्यसूची रहेको छ।
मन्त्रालयले नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्