चितवन । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण कार्य पुनः सुरु भएको छ।
बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएपछि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले करिब एक महिनादेखि काम रोकेको थियो। तर हाल प्रदेश सरकारले रु नौ करोड निकासा गरेपछि निर्माण कार्य पुनः सुरु भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए।
महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यका अनुसार निर्माण कम्पनीलाई बिलअनुसारको भुक्तानी भइसकेको छ। रङ्गशालाको निर्माण कार्य हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ।
निर्माण सम्झौता अनुसार रङ्गशालाको काम आगामी पुस २२ गतेसम्म सम्पन्न गर्नुपर्नेछ। हालसम्म करिब ५५ प्रतिशत काम पूरा भएको महानगरपालिकाले जनाएको छ।
विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच रु ७५ करोड ५० लाख ९१ हजार १८९ को लागतमा सम्झौता भएको थियो। सो सम्झौताअनुसार काम २०८३ पुस २२ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण कार्य पूरा गर्न नसकेपछि महानगरपालिकाले नयाँ बोलपत्रमार्फत पुनः निर्माण कार्य अघि बढाएको हो।







प्रतिक्रिया दिनुहोस्