images
images

प्रधानमन्त्री बालेनलाई संसद्‌मा ल्याउने रास्वपाको प्रतिबद्धता, विपक्षीले मागे निश्चित मिति

काठमाडौं । सत्तारुढ दल रास्वपाले प्रधानमन्त्री बालेन शाहलाई संसद्‌मा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी ले प्रधानमन्त्रीलाई छिट्टै संसद्‌मा ल्याइने बताएका हुन्।

विपक्षी दलहरूले संसद् नियमावलीअनुसार प्रधानमन्त्रीले नियमित रूपमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् । नियमावलीमा संसद् सञ्चालन भइरहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ ।

यसअघि पनि विपक्षी दलहरूले यही माग राख्दै संसद् अवरुद्ध गरेका थिए । केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री उपस्थित नभए आजको बैठकसमेत अवरुद्ध गर्ने चेतावनी दिएको थियो । हाल संसद् बैठक जारी छ । आकस्मिक, विशेष र शून्य समय सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा आउनेबारे स्पष्ट जानकारी नदिइए बैठक अवरुद्ध गर्ने तयारी रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले बताए ।

विपक्षी दलहरूले जेठ १५ गते अर्थमन्त्रीले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट सबै सांसदले शान्तिपूर्वक सुन्न पाउने वातावरण बनाउन पनि सत्तापक्षलाई आग्रह गरेका छन् । साथै, प्रधानमन्त्री संसद्‌मा कहिले उपस्थित हुने भन्नेबारे स्पष्ट मिति तोक्न माग गरेका छन् । रास्वपा प्रमुख सचेतक बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्‌मा ल्याउने प्रतिबद्धता जनाए पनि ठोस मिति भने दिन सकेनन् ।

दुलालले भने, “रास्वपा प्रमुख सचेतकले आजै दुई घण्टाभित्र सरकारसँग छलफल गरेर जवाफ दिने बताउनुभएको छ । तर, कुन मितिमा प्रधानमन्त्री प्रश्नोत्तरका लागि आउनुहुन्छ भन्ने स्पष्ट गर्न सक्नुभएन ।” प्रधानमन्त्री उपस्थित हुने दिनसम्म संसद् बैठक स्थगन गर्न पनि विपक्षीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्