images
images

सानिगाड हाइड्रोले जेठ १८ देखि ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्दै

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को मिति परिवर्तन गरेको छ। यसअघि जेठ १४ गतेदेखि बिक्री खुला गर्ने तयारी गरेको कम्पनीले नेपाल सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नयाँ मिति तय गरेको हो।

कम्पनीका अनुसार अब सर्वसाधारण लगानीकर्ताले आगामी जेठ १८ गतेदेखि आईपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको कुल ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख ७० हजार कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।

त्यस्तै, कम्पनीका कर्मचारीहरूका लागि १ लाख ७१ हजार कित्ता र सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि २ लाख ८५ हजार कित्ता शेयर सुरक्षित गरी बाँडफाँट भइसकेको छ।

सर्वसाधारणका लागि कति ? अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओको कुल रकम ४६ करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ।

आवेदन दिने प्रक्रिया र म्याद

  • न्यूनतम र अधिकतम आवेदन: लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

  • निष्कासन बन्द हुने मिति: यो आईपीओ छिटोमा जेठ २१ गते र सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार १ गते बैंकिङ समयपश्चात् बन्द हुनेछ।

रेटिङ र बिक्री प्रबन्धक आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘ICRANP Issuer Rating BB-’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूका साथै ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्