images
images

भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणामा उनको दुई दिने औपचारिक भ्रमण तय भएको पार्टी स्रोतले जनाएको छ ।

जानकारीअनुसार उनी जेठ १८ गतेतिर नयाँ दिल्ली जाने तयारीमा छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकर सँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

रास्वपाको नेतृत्वमा बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल–भारतबीच उच्च तहका भ्रमणहरू कम भएका छन् । यसअघि भारतीय विदेश सचिवको नेपाल भ्रमण र नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमण पनि स्थगित भएका थिए ।

दुई देशबीच सम्बन्ध चिसिएको चर्चा भइरहेका बेला लामिछानेको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भारतले यसअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि भ्रमणको निमन्त्रणा दिएको भए पनि हालसम्म भ्रमणको मिति तय हुन सकेको छैन ।

प्रधानमन्त्री शाहले आवश्यकताअनुसार जुनसुकै देशको भ्रमण गर्न सकिने धारणा राख्दै आएका छन् । साथै, उनले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी प्रतिनिधिसँग विशेष अवस्थाबाहेक भेट नगर्ने नीति अपनाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्