काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले संसदमा भइरहेको पर्चा प्रदर्शनलाई निरन्तर जारी राख्ने बताएका छन्। सरकार संसदप्रति जिम्मेवार नभएसम्म आफ्नो विरोध नरोकिने उनको भनाइ छ।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले आफूहरूले उठाएका जनसरोकारका विषयमा सरकारले बेवास्ता गरेको आरोप लगाए। सुकुमबासी समस्या, लिपुलेक विवाद, विदेशी ऋणलगायत विषयमा पटक–पटक प्रश्न उठाउँदा पनि सम्बन्धित मन्त्रीहरूले जवाफ नदिएको उनले गुनासो गरे। “जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ,” साम्पाङले भने।
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए। त्यसक्रममा सभामुखले आगामी दिनमा यस्तो गतिविधि दोहोर्याउन नहुने चेतावनी दिएका थिए। तर साम्पाङले भने आफ्नो पार्टीले संसदभित्र कुनै अमर्यादित गतिविधि नगरेको दाबी गरे।
उनले पर्चा देखाएर आफ्ना माग र असहमति राख्नु लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै नियमावलीमा यस्तो कार्य गर्न नपाइने स्पष्ट व्यवस्था नरहेको बताए।साम्पाङले सभामुखले सबै दलप्रति समान व्यवहार गर्नुपर्ने धारणा पनि राखे। आफू संसदीय दलको नेता भए पनि बोल्न पर्याप्त समय नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
दिनहुँको विरोधका कारण निलम्बन हुन सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा साम्पाङले आफू त्यसका लागि तयार रहेको प्रतिक्रिया दिए। “जनताको आवाज उठाउँदा निलम्बन हुन्छ भने पनि हामी तयार छौँ,” उनले भने।













प्रतिक्रिया दिनुहोस्