images
images

संसदीय सुनुवाइ समितिबाट मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि प्रस्तावित मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सुनुवाइ प्रक्रिया सम्पन्न गर्दै शर्मालाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन्।

सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माले न्यायिक सुधारसम्बन्धी आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै उनले अदालतको प्रभावकारिता, पारदर्शिता र न्याय सम्पादन सुधारलाई प्राथमिकतामा राख्ने बताएका थिए।

सुनुवाइका क्रममा सांसदहरूले दरपीठसम्बन्धी विवाद, अदालतभित्रको गुटबन्दी (ग्रुपिज्म) तथा एनसेल कर विवादलगायतका विषयमा पनि प्रश्न उठाएका थिए।

यसअघि संवैधानिक परिषद्को सिफारिसमा शर्माको नाम अघि बढाइएको थियो। परिषद्को गत वैशाख २४ गते बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद् बैठकले चौथो वरीयतामा रहेका शर्माको नाम सिफारिस गरेपछि वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा तोडिएको भन्दै केही सदस्यहरूले असहमति जनाएका थिए।

यद्यपि, संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै अब शर्माको नाम राष्ट्रपति समक्ष पठाइनेछ र राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रक्रिया बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्