काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै हुने भएको छ। संसदीय सुनुवाइ समितिले आज दिउँसो १ः३० बजे सुनुवाइको कार्यसूची तय गरेको हो।
समितिका सचिव तुलबहादुर विश्वकर्माका अनुसार सुनुवाइअघि समितिले बिहान बैठक बोलाएर प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना तथा उनीविरुद्ध परेका उजुरीमाथि अध्ययन गरेको थियो।
बैठकमा विपक्षी दलका सांसदहरू पद्मा अर्याल, वर्षमान पुन र नरबहादुर विष्टलगायतले प्रक्रियाअनुसार अघि बढ्नुपर्ने भन्दै शर्माको कार्ययोजना अध्ययन गर्न थप समय आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले ६ वर्षे कार्यकालका लागि प्रस्तावित प्रधानन्यायाधीशले न्यायालय सुधार र नेतृत्वबारे के योजना ल्याएका छन् भन्ने विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताएका थिए।
यता समितिका सदस्य कवीन्द्र बुर्लाकोटी, मधु चौलागाईंलगायतले भने उजुरी अध्ययनका लागि धेरै समय आवश्यक नपर्ने भन्दै प्रक्रिया छिटो अघि बढाउनुपर्ने धारणा राखेका थिए।
समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि अत्यधिक समय आवश्यक नपर्ने बताएका थिए। उनले सुनुवाइ प्रक्रिया समयमै सम्पन्न गर्न सबै सदस्यलाई सहयोग गर्न आग्रह गरेका थिए।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सात वटा उजुरी परेको बताइएको छ। संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस्