काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले शीर्षस्थानको स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीलाई ६ विकेटले पराजित गर्दै आईसीसी विश्वकप लिग–२ को अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। यससँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला पनि लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा सन्दीप लामिछानेको विश्व कीर्तिमान, रोहित पौडेल र इशान पाण्डेबीचको शतकीय साझेदारी तथा दुवैको अर्धशतक निर्णायक बन्यो।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। आसिफ २९ रनमा रन आउट भए भने कुशल २८ रन बनाएर आउट भए।
त्यसपछि इशान र रोहितले तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ अघि बढाए। इशानले ५३ बलमा ५ चौका र २ छक्कासहित ५५ रन बनाए। यो उनको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो।
कप्तान रोहितले ९८ बलमा २ चौका र १ छक्कासहित अविजित ७४ रन बनाए। आरिफ शेख ८ रनमा अविजित रहे। जितका लागि २ रन आवश्यक हुँदा रोहितले छक्का प्रहार गर्दै नेपाललाई शानदार जित दिलाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै समेटिएको थियो। स्कटल्यान्डका ब्रान्डन म्याकमलेनले सर्वाधिक ७३ रन बनाए भने माइकल लिस्कले अर्धशतक प्रहार गरे।
नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए भने सन्दीपले ३ विकेट हात पारे। यही क्रममा सन्दीपले ७३ खेलमै १५० विकेट पूरा गर्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमान बनाए। उनले अस्ट्रेलियाका मिचेल स्टार्कको ७७ खेलको रेकर्ड तोडेका हुन्।
यो हारसँगै स्कटल्यान्ड ३८ अंकसहित शीर्षस्थानमै कायम छ भने नेपाल २२ अंकसहित पाँचौं स्थानमा पुगेको छ। रनरेटका आधारमा नेपाल नामिबियाभन्दा अगाडि रहेको छ।
अब बुधबार स्कटल्यान्ड र अमेरिकाबीच खेल हुनेछ भने सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र अमेरिकाबीच हुनेछ।













प्रतिक्रिया दिनुहोस्