काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा गंगादेवी श्रेष्ठले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै सुन खरिदको बिल सार्वजनिक गर्नुपर्ने माग गरेकी हुन्।
उनले भ्रष्टाचारविरुद्धको नारासहित बनेको सरकारले आफ्नै मन्त्रीहरूको सम्पत्तिबारे पारदर्शिता अपनाउनुपर्ने बताइन्। “मन्त्रीहरूको यति धेरै सुन कहाँबाट आयो ? बिल पनि सार्वजनिक गरियोस्। बिलबिना सुन किनबेच हुँदैन,” उनले भनिन्।
सांसद श्रेष्ठले विभिन्न मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख गरिएको सुन तथा गहनाबारे पनि प्रश्न उठाइन्। उनले बालेन्द्र शाह र उनकी पत्नी सविना काफ्लेसँग १९० तोला सुन रहेको, गौरीकुमारी यादवसँग १८० तोला सुन, दुई किलो चाँदी र हीराका गहना रहेको उल्लेख गरिन्।
त्यस्तै तत्कालीन गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी तथा स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख भएको उनले बताइन्।
सांसद श्रेष्ठले सगरमाथामा विदेशी सेना राख्ने विषय तथा मुस्ताङमा युरेनियम रहेको चर्चाबारे पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।











प्रतिक्रिया दिनुहोस्