बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना सरकारले वर्षौंदेखि बसेका बस्तीमा डोजर चलाएर ‘आतंक’ मच्चाएको आरोप लगाउँदै देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीहरूले बुटवलमा प्रदर्शन गरेका छन्।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको आयोजनामा आइतबार भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको समितिका संयोजक खगेन्द्र पौडेल ले जानकारी दिएका छन्।
प्रदर्शनकारीहरूले सरकारले गरिब तथा सुकुम्बासी बस्तीमा डोजर चलाएर उठिबास लगाएको आरोप लगाउँदै तत्काल विकल्पसहित समाधान दिन माग गरेका छन्।
उनीहरूले ‘डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर, गाँस–बासको व्यवस्था गर, जबर्जस्ती हटाउने अभियान बन्द गर’ लगायतका नारा लगाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
त्यस्तै उनीहरूले ‘सुकुम्बासी हुनु रहर होइन बाध्यता हो, गरिबलाई बाँच्न दे, डोजर होइन समाधान दे, गाँस–बास–कपासको सुनिश्चित गर’ भन्दै पनि प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह को राजीनामा समेत माग गर्दै आक्रोश व्यक्त गरेका थिए।














प्रतिक्रिया दिनुहोस्