काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन सञ्चालन गर्दैछ। वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब १५ सय वडामा आज अधिवेशन हुन लागेको हो।
रास्वपाका सङ्गठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म देशभर करिब ३ हजार वडामा तदर्थ समिति गठन भइसकेको छ। तीमध्ये झण्डै आधा वडाको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको र बाँकी वडाको अधिवेशन आज गर्न लागिएको उनले जानकारी दिए।
रास्वपाले वडा अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। जेठ ३ गतेअघि तदर्थ समिति गठन भएका वडाको अधिवेशन आज भइरहेका छन् भने त्यसपछि गठन हुने वडाको अधिवेशन जेठ १६ गते गरिने कार्यतालिका तय गरिएको छ।
त्यस्तै, पालिका अधिवेशन पनि दुई चरणमा हुने भएको छ। पार्टीले जेठ ९ र १७ गते पालिका अधिवेशन गर्ने जनाएको छ। रास्वपाले कुनै पालिकाका ३० प्रतिशत वडा तथा जिल्लाका ३० प्रतिशत पालिकामा अधिवेशन सम्पन्न भए उपल्लो तहको अधिवेशन रोक्न नपर्ने व्यवस्था गरेको जनाएको छ।
पार्टीले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका बनाएको छ भने प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भई असार १ गतेसम्म सञ्चालन हुनेछ।
रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गरिने भएको छ। पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै दिनलाई महाधिवेशनको मिति तय गरिएको पार्टीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्