images
images

ट्रम्प–सी भेट आज : व्यापार, ताइवान र इरान युद्ध मुख्य एजेन्डा

काठमाडौं । डोनाल्ड ट्रम्पसी चिनफिङ बीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ । बेइजिङस्थित द ग्रेट हल अफ द पिपुल मा हुने उक्त भेटलाई विश्व राजनीति, व्यापार र शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

ट्रम्प दोस्रो कार्यकालपछि पहिलोपटक चीन भ्रमणमा पुगेका हुन् । यसअघि उनले सन् २०१७ नोभेम्बरमा चीन भ्रमण गरेका थिए । पछिल्लो समय अमेरिका–चीनबीच बढ्दो व्यापारिक तनाव, भू–राजनीतिक प्रतिस्पर्धा तथा विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताबीच यो भेट हुन लागेको हो ।

ट्रम्प प्रशासनले दोस्रो कार्यकाल सुरु गरेपछि चिनियाँ सामग्रीमा भन्सार शुल्क वृद्धि गरेसँगै दुई देशबीचको व्यापारिक सम्बन्ध थप तनावपूर्ण बनेको छ । यसैबीच, व्यापारिक सम्बन्ध सुधार गर्न अमेरिका नयाँ व्यापारिक ढाँचा प्रस्ताव गर्ने तयारीमा रहेको बताइएको छ ।

सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको भेटपछि दुवै देशले भन्सार शुल्क ५७ प्रतिशतबाट ४७ प्रतिशतमा झारेका थिए । ट्रम्पले उक्त सहमतिलाई ‘सफल वार्ता’को उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

भेटवार्तामा ताइवानको विषय प्रमुख एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ । चीन प्रस्थानअघि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ राष्ट्रपति सीले ताइवानको मुद्दा गम्भीर रूपमा उठाउन सक्ने बताएका थिए ।

यसैगरी, इरान युद्ध र त्यसले विश्व ऊर्जा बजारमा पारेको प्रभावबारे पनि दुई नेताबीच छलफल हुने अपेक्षा गरिएको छ । चीनले इरानमाथिको आक्रमणको आलोचना गर्दै आएको छ भने अमेरिका युद्धमा प्रत्यक्ष रूपमा संलग्न रहेको छ ।

ट्रम्पको भ्रमण टोलीमा अमेरिकी प्रविधि, बैंकिङ तथा उद्योग क्षेत्रका १६ प्रमुख कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहभागी रहेका छन् । टोलीमा एलन मस्क, टिम कुकल्यारी फिन्क लगायतका चर्चित व्यवसायी सहभागी छन् ।

अमेरिकाले चीनसँग दुर्लभ खनिज धातुमा आफ्नो पहुँच कायम राख्न चाहेको छ । यस्ता खनिजमा चीनको विश्वव्यापी प्रभाव बलियो मानिन्छ । यसैबीच, चीनले ५०० वटा Boeing विमान खरिद गर्न सक्ने तथा अमेरिकी कृषि उत्पादनको आयात बढाउन सक्ने अनुमान गरिएको छ । बदलामा चीनले उच्च प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अमेरिकाले लगाएको प्रतिबन्ध खुकुलो बनाउन प्रस्ताव गर्ने तयारी गरेको बताइएको छ ।

साथै, चिनियाँ विद्युतीय सवारी निर्माता BYD लाई अमेरिकी बजारमा प्रवेश दिने विषयमा पनि छलफल हुन सक्ने अपेक्षा गरिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुन ले समानता र आपसी सम्मानका आधारमा अमेरिकासँग सहकार्य गर्न चीन तयार रहेको बताएका छन् ।

सन् २०२६ को पहिलो दुई महिनामा चीनको निर्यात २१.८ प्रतिशतले वृद्धि भएको तथ्यांकले चीनले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्