images
images

आजको संसद बैठकमा प्रधानमन्त्रीको जवाफ र नीति कार्यक्रम पारितको तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर, बुधबारको प्रतिनिधिसभा बैठक भने नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रम प्रस्तुत गर्न सदनमा उपस्थित नभएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।

आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

चालु अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पनि प्रस्तुत गरिनेछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि आज बिहान ११ः१५ बजे बस्ने तय भएको छ । उक्त बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्