थाइल्याण्ड — नेपालका मिर्गौला प्रत्यारोपण प्राप्तकर्ता हरि नारायण शर्माले थाइल्याण्डमा आयोजित ट्रान्सप्लान्ट एशियन ओपन च्याम्पियनसिप २०२६ मा स्वर्ण र रजत पदक जित्दै देशलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएका छन्। बागलुङका ४८ वर्षीय शर्माले पुरुष सिंगल्स टेनिसमा स्वर्ण र मिक्स्ड डबल्समा रजत पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका हुन्।
१२ देशका ७५ जना ट्रान्सप्लान्ट खेलाडी सहभागी प्रतियोगितामा शर्माको सफलताले अंग प्रत्यारोपणपछि पनि जीवन सक्रिय, स्वस्थ र सफल बन्न सक्छ भन्ने सशक्त सन्देश दिएको छ। सन् २००८ मा मिर्गौला प्रत्यारोपण गरेका उनले त्यसपछि पनि दशकौँसम्म सक्रिय जीवनयापन सम्भव रहेको प्रमाणित गरेका छन्।
अष्ट्रेलिया, भुटान, चीन, हङकङ, भारत, मलेसिया लगायतका देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै उनले आफ्नो क्षमता देखाएका थिए। प्रतियोगिताले खेल मात्र होइन, साहस, अनुशासन र दोस्रो जीवनको अवसरलाई उजागर गरेको थियो।
शर्माको यात्रा व्यक्तिगत सफलताभन्दा माथि उठेर सामाजिक सन्देश बोकेको छ। उनले अंगदान चेतना, मिर्गौला स्वास्थ्य शिक्षा, ट्रान्सप्लान्ट बिरामीको सहयोग र प्रत्यारोपणपछि सक्रिय जीवनशैलीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन्। उनी नेपाल ट्रान्सप्लान्ट गेम्स संघका महासचिव तथा वर्ल्ड ट्रान्सप्लान्ट गेम्स फेडेरेशन (WTGF) का टिम म्यानेजरको रूपमा पनि सक्रिय छन्।
यस उपलब्धिले नेपालमा ट्रान्सप्लान्ट खेलकुद र अंगदान अभियानलाई अझ मजबुत बनाउन सरकारी, निजी तथा सामाजिक क्षेत्रको थप सहकार्य आवश्यक रहेको देखाएको छ। साथै, नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने अवसर विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ।
शर्माको सफलता केवल पदक जित्ने कथा होइन, जीवनप्रतिको आशा, पुनर्जन्मको अनुभूति र मानवताको सन्देश हो। उनको यात्राले अंगदानमार्फत जीवन बचाउन सकिन्छ भन्ने सन्देशलाई पुनः बलियो बनाएको छ।













प्रतिक्रिया दिनुहोस्