काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (चैतसम्म) मा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ४० अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाखभन्दा बढी बीमा पोलिसी बिक्री गर्दै कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ संकलन गरेका हुन्।
चैत महिनामा मात्रै कम्पनीहरूले ३ लाख ५५ हजारभन्दा बढी बीमालेख जारी गरी १५ अर्ब ७३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेका छन्।कम्पनीगत रूपमा सबैभन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ, जसले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
त्यसपछि नेशनल लाइफ इन्स्योरेन्स ले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ संकलन गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
अन्य कम्पनीहरूको विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्स ले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनी ले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्स ले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
यसैगरी एशियन लाइफ इन्स्योरेन्स ले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स ले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ संकलन गरेका छन्।
त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स ले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफ ले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्स ले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
समग्रमा, जीवन बीमा क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा उल्लेखनीय वृद्धि देखिएको छ, जसले बीमा बजार विस्तार र जनचासो बढ्दो रहेको संकेत गर्दछ।











प्रतिक्रिया दिनुहोस्