काठमाडौँ । नेपाली कांग्रेस को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। पार्टीले सहमहामन्त्री प्रकाश स्नेही रसाइली को संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ। समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन्।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता आज दिउँसो ३ बजेदेखि हुनेछ भने मतदान प्रक्रिया अपराह्न ५ बजेदेखि सुरु हुनेछ। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सांसद रहेका छन्, जसले मतदान गर्नेछन्।
संसदीय दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले पदका लागि आकाङ्क्षीहरूको संख्या बढी देखिएको छ। हालसम्म भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य ले उम्मेदवारी दाबी गर्दै समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह सक्रिय छन्। केसी र आचार्य विशेष महाधिवेशन (संस्थापन) पक्षधर मानिन्छन् भने आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन्। आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने केसी र आङ्देम्बे समानुपातिक प्रणालीबाट सांसद बनेका छन्।
केसी र आङ्देम्बे दुवै पूर्वसहमहामन्त्रीसमेत हुन्। केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद मानिन्छन् भने आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनबाट राजनीतिमा आएका हुन्। १४औँ महाधिवेशनमा केसी शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य र आङ्देम्बे शेरबहादुर देउवा समूहबाट सहमहामन्त्री निर्वाचित भएका थिए।
आचार्य पनि १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन्। आन्तरिक समीकरणमा केसीले आफू नभए आचार्यलाई नेता बनाउनुपर्ने अडान राखेको बताइन्छ। अर्कोतर्फ आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्मा, देउवा समूह र कोइराला समूहका नेताहरूको समर्थन देखिएको छ।
सभापति गगन थापा भने केसीलाई अघि सार्दा पारिवारिक आरोप लाग्ने चिन्तामा रहेको स्रोतको भनाइ छ, किनकि केसी उनका ससुरा हुन्। त्यसैले थापा आचार्यलाई उम्मेदवार बनाउने विकल्पमा पनि खुलेका छन्। तर उपसभापति शर्मा आङ्देम्बेको पक्षमा उभिएपछि संस्थापनभित्रै सहमति जुट्ने सम्भावना कमजोर देखिएको छ।
महामन्त्री प्रदीप पौडेल ले सर्वसम्मतिबाट नेता चयन गर्ने प्रयास जारी रहेको बताए पनि अहिलेसम्म सहमति हुन सकेको छैन। ‘सर्वसम्मतिका लागि धेरै प्रयास गरियो, अझै प्रयास जारी छ, नभए निर्वाचन प्रक्रियामा जान्छौँ,’ उनले बताएका छन्।
कांग्रेसको संसदीय इतिहासमा २०६४ पछि दलको नेता निर्वाचनबाटै चयन हुँदै आएको छ। हालको अवस्थामा पनि आन्तरिक गुटबन्दी चर्किएकाले मतदानमार्फत् नेता चयन हुने सम्भावना उच्च देखिएको छ।











प्रतिक्रिया दिनुहोस्