काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य आक्रमण स्थगित गर्दै युद्धविराम अवधि लम्ब्याउने निर्णय गरेका छन् । पाकिस्तानको आग्रहपछि इरानलाई संयुक्त प्रस्ताव ल्याउने समय दिन यस्तो कदम चालिएको ट्रम्पले बताएका छन् ।
उनका अनुसार इरानभित्र नेतृत्व तहमा मतभेद देखिएकाले समाधानको अवसर दिन आक्रमण रोकेको हो । तर उनले अमेरिकी सेनालाई इरानमाथिको नाकाबन्दी जारी राख्न र आवश्यक परे कुनै पनि अवस्थाका लागि तयार रहन निर्देशन दिएका छन् । यसले तत्काल सैन्य कारबाही रोकिने भए पनि दबाब भने कायम रहने संकेत गरेको छ ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रस्ताव नआएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम कायम रहने उल्लेख गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त निर्णयलाई स्वागत गर्दै कूटनीतिक पहलका लागि सकारात्मक कदम भएको बताएका छन् । उनले आफू र सेना प्रमुख आसिम मुनीरले ट्रम्पप्रति आभार व्यक्त गरेको जानकारी दिएका छन् ।
यद्यपि, इरानबाट औपचारिक प्रतिक्रिया भने आएको छैन । इरानले इस्लामाबादमा प्रस्तावित वार्तामा सहभागी हुन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानी पक्षले अमेरिकी मागहरू अत्यधिक भएकाले वार्ता निरर्थक भएको ठहर गरेको बताइएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरू आसपास अमेरिकी नाकाबन्दीलाई युद्धविराम उल्लंघन भएको बताएका छन् । उनले इरान आफ्नो हित जोगाउन र प्रतिबन्धको सामना गर्न सक्षम रहेको पनि बताएका छन् ।
उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि अधिकतम आर्थिक दबाब जारी रहने स्पष्ट पारेका छन् । इरानको आर्थिक क्षमतामा प्रहार गर्न वित्तीय गतिविधि लक्षित गरिने उनको भनाइ छ ।
ट्रम्पले इरानमा शासन परिवर्तन भएको दाबी गर्दै चाँडै ठूलो सम्झौता हुन सक्ने संकेत पनि गरेका छन् । तर शान्ति सम्झौता नभए सैन्य विकल्प खुला रहेको चेतावनी उनले दिएका छन् ।
यसबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण स्थगित भएको बताइएको छ । मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व अन्त्य अझै अनिश्चित रहेको जनाएको छ ।
कतिपय अन्तर्राष्ट्रिय विश्लेषकहरूले भने ट्रम्पको निर्णयलाई वार्ता असफलताबाट ध्यान हटाउने रणनीति भएको टिप्पणी गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्