काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज टी–२० आई सिरिजको पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा साँझ ५ बजे सुरु हुनेछ।
घरेलु मैदानमा नेपाल र यूएईबीच दुई खेलको टी–२० आई सिरिज हुँदैछ। यो सिरिज विशेष रूपमा ऐतिहासिक बनेको छ, किनकि पहिलोपटक त्रिवि मैदानको फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल आयोजना हुन लागेको हो। यसअघि यही मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) भने फ्लडलाइटमा सम्पन्न भइसकेको थियो।
नेपाल क्रिकेट संघ ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली मैदान उतारेको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।
त्यस्तै वैकल्पिक खेलाडीका रूपमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन्। सिरिजको दोस्रो खेल मंगलबार हुने तालिका छ।
नेपालले पहिलोपटक टी–२० र एकदिवसीय क्रिकेटमा फरक–फरक कप्तानको अभ्यास सुरु गरेको छ। यस क्रममा रोहित पौडेल, सोमपाल कामी र करण केसीजस्ता खेलाडी टी–२० टोलीबाट बाहिर रहेका छन्।
प्रतिक्रिया दिनुहोस्