images
images

डिजेल–मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनको आन्तरिक मूल्य बढाइएको हो ।

नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यससँगै डिजेल–मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ र हवाई इन्धनको मूल्य २५६ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । तर मूल्य बढाउँदा पनि निगम अझै घाटामै रहेको दाबी गरिएको छ ।

निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको छ ।

पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्