images
images

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत संसदीय समितिहरूको सभापति चयनका लागि शुक्रबार निर्वाचन हुने भएको छ।

‘मिनी संसद्’का रूपमा चिनिने समितिहरूका सभापति चयनका लागि संघीय संसद् सचिवालयले निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ। सो कार्यक्रमअनुसार बिहीबार अपराह्न १ बजेदेखि ४ बजेसम्म सभापतिका लागि प्रस्ताव दर्ता गर्न सकिनेछ।

संघीय संसद्का सचिव हर्कराज राईका अनुसार ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्दा सोही समितिका एक जना सदस्य प्रस्तावक र अर्को एक जना सदस्य समर्थक हुनुपर्नेछ।

निर्धारित समयभित्र दर्ता भएका प्रस्तावहरूको सूची सोही दिन अपराह्न साढे ४ बजेसम्म दर्ताक्रम अनुसार प्रकाशित गरिनेछ।

शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र त्यसपछि निर्णयार्थ प्रस्तुत गरिनेछ।

एकभन्दा बढी समितिमा पदेन सदस्य रहेका मन्त्रीले सभापतिको निर्वाचनमा मतदान गर्ने अवस्था आएमा त्यसबारेको जानकारी निर्वाचन हुनुभन्दा २४ घण्टा अगावै सम्बन्धित समितिलाई लिखित रूपमा दिन सचिवालयले आग्रह गरेको छ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा १० वटा, राष्ट्रियसभामा ४ वटा र २ वटा संयुक्त समिति रहेका छन्।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिहरू रहेका छन्।

त्यस्तै संयुक्त समितिहरूमा संसदीय सुनुवाइ समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।

प्रतिक्रिया दिनुहोस्