images
images

ऊर्जा संकटले विश्व अर्थतन्त्र जोखिममा, वृद्धिदर २% तल झर्ने संकेत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्ध लम्बिएर ऊर्जा मूल्य उच्च रहिरहे विश्व अर्थतन्त्र मन्दीतर्फ जान सक्ने चेतावनी दिएको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनमार्फत आईएमएफले युद्धका कारण विश्व अर्थतन्त्र पुनः अस्थिर बन्दै गएको जनाएको हो ।

प्रतिवेदनअनुसार होर्मुज जलमार्ग अवरुद्ध हुँदा ऊर्जा आपूर्तिमा गम्भीर असर परेको छ, जसले विश्व बजारमा मूल्यवृद्धिको दबाब बढाएको छ । तेल, ग्यास र खाद्य पदार्थको मूल्य आगामी वर्षसम्म उच्च रहिरहेमा २०२६ मा विश्व आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा तल झर्न सक्ने चेतावनी दिइएको छ ।

आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिवियर गोरिनचास ले यस्तो अवस्था आए विश्व अर्थतन्त्र मन्दीसरहको स्थितिमा पुग्न सक्ने बताए । उनका अनुसार यसले बेरोजगारी बढाउने र खाद्य असुरक्षा गहिर्याउने जोखिम छ ।

गम्भीर परिदृश्यमा यस वर्ष कच्चा तेलको मूल्य प्रतिव्यारेल ११० डलरसम्म र २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यससँगै २०२७ मा विश्वव्यापी मुद्रास्फीति ६ प्रतिशतसम्म पुग्न सक्ने उल्लेख छ ।

मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने सम्भावना रहेको आईएमएफले जनाएको छ, जसले आर्थिक गतिविधिलाई थप सुस्त बनाउन सक्छ । तर, यदि निकट भविष्यमा युद्ध अन्त्य भई ऊर्जा आपूर्ति सामान्य अवस्थामा फर्किएमा २०२६ मा विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशतसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ ।

आईएमएफका अनुसार विकसित देशहरूमध्ये बेलायत ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित हुन सक्छ । बेलायतको २०२६ को आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा झारिएको छ । त्यस्तै, खाडी क्षेत्रका तेल उत्पादक देशहरूमा आर्थिक सुस्ती देखिन सक्ने र इरान को अर्थतन्त्र २०२६ मा ६.१ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्