images
images

अमेरिका–इरान द्वन्द्वले विश्व अर्थतन्त्रमा दबाब, विश्व बैंकको गम्भीर चेतावनी

काठमाडौँ । अमेरिका र इरानबीच बढ्दो द्वन्द्वले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न थालेको छ। तेलको मूल्य उच्च विन्दुमा पुग्दै प्रतिब्यारेल १०० डलर नजिक पुगेको छ भने विश्वभरका शेयर बजारमा गिरावट देखिएको छ। यसका कारण अन्तर्राष्ट्रिय व्यापार, आयात–निर्यात र ऊर्जा बजारमा व्यापक असर परेको छ।

यसैबीच विश्व बैंक ले विश्व अर्थतन्त्रबारे चेतावनी जारी गरेको छ। विश्व बैंकका प्रमुख अजय बंगा ले युद्ध रोकिए पनि यसको प्रभाव दीर्घकालीन रहने बताएका छन्। उनका अनुसार तत्काल युद्धविराम भए पनि विश्वव्यापी आर्थिक मन्दी टार्न कठिन हुनेछ।

उनले युद्धविराम कायम रहेमा विश्व आर्थिक वृद्धिदर ०.३ देखि ०.४ प्रतिशत विन्दुले घट्न सक्ने र यदि द्वन्द्व पुनः चर्किएमा यो गिरावट १ प्रतिशतसम्म पुग्न सक्ने बताएका छन्। यसले व्यापार, ऊर्जा आपूर्ति र वित्तीय प्रणालीमा थप दबाब सिर्जना गर्नेछ।

महँगी पनि बढ्ने संकेत गरिएको छ। युद्धविराम भएमा मुद्रास्फीति २०० देखि ३०० आधार बिन्दुले बढ्न सक्ने र द्वन्द्व लम्बिँदा थप ०.९ प्रतिशत विन्दुले वृद्धि हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी विकासशील देशहरू बढी जोखिममा रहेको उल्लेख गरिएको छ, जहाँ महँगी ६.७ प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ।

ऊर्जा आयातमा निर्भर मुलुकहरूका लागि अवस्था झन जटिल बन्ने देखिएको छ। विश्व बैंकले यस्ता देशहरूलाई आपतकालीन सहयोग उपलब्ध गराउने तयारी थालेको जनाएको छ। तर अजय बंगाले दीर्घकालीन रूपमा ऊर्जा अनुदानमा निर्भर हुन नहुने चेतावनी दिएका छन्, किनकि यसले भविष्यमा आर्थिक अस्थिरता निम्त्याउन सक्छ।

उनका अनुसार ऊर्जा स्रोतको विविधीकरण नगर्ने देशहरू दीर्घकालीन संकटमा पर्न सक्छन्। उदाहरणका रूपमा उनले नाइजेरियामा निर्माण भएको ठूलो रिफाइनरी परियोजनाले ऊर्जा सुरक्षामा सुधार ल्याएको उल्लेख गरेका छन्।

बंगाले दीर्घकालीन समाधानका रूपमा आणविक, जलविद्युत, भूतापीय, वायु र सौर्य ऊर्जाको विस्तारमा जोड दिएका छन्। अन्यथा देशहरू पुनः जीवाश्म इन्धनमा निर्भर हुनुपर्ने जोखिम रहने र त्यसले आर्थिक तथा वातावरणीय समस्या झन बढाउने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्