काठमाडौं । १५ दिने युद्धविरामको अवस्थाबीच अमेरिका र इरानबीच आज इस्लामाबादमा वार्ता हुँदै छ । दुवै देशका प्रतिनिधिमण्डल वार्ताका लागि पाकिस्तान पुगिसकेका छन् ।
अलजजिराका अनुसार इरानले आफ्ना ६ बुँदे सर्तमा सहमति भए मात्र औपचारिक वार्तामा बस्ने अडान राखेको छ । इरानको पहिलो माग लेबनानमा पनि युद्धविराम लागू गर्नुपर्ने रहेको छ । इजरायलले लेबनानमा गरेको हमलामा हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इजरायलले भने उक्त क्षेत्र युद्धविरामको हिस्सा नभएको बताउँदै आएको छ ।
इरानले आफूमाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने अडान पनि राखेको छ । अमेरिकाले भने इरानले परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमबाट पछि हटेमा यस विषयमा सशर्त सहमति जनाउन सकिने संकेत दिएको छ ।
यसैगरी, इरानले स्ट्रेट अफ होर्मुजमाथिको आफ्नो अधिकार स्वीकार गर्न अमेरिका तयार हुनुपर्ने बताएको छ । उक्त क्षेत्रमा राजस्व निर्धारण गर्ने अधिकार पनि आफैंसँग हुनुपर्ने उसको सर्त छ । यता अमेरिकाले भने कुनै शुल्क वा सर्तबिना जहाज आवतजावत गर्न दिनुपर्ने माग राखिरहेको छ ।
इरानले ६ साता लामो युद्धका कारण भएको क्षतिका लागि अमेरिकाबाट क्षतिपूर्ति मागेको छ । यस विषयमा अमेरिकाले औपचारिक प्रतिक्रिया दिएको छैन । साथै, इजरायल र अमेरिकाले इरानको क्षेप्यास्त्र कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने माग गरेका छन्, जसलाई इरानले अस्वीकार गर्ने संकेत गरिसकेको छ ।
त्यस्तै, इरानले आफ्नो वरिपरि रहेका अमेरिकी सैन्य उपस्थिति हटाउनुपर्ने र भविष्यमा कुनै पनि आक्रमण नहुने सुनिश्चितता चाहिने माग राखेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता सफल भएमा यस्तो सुनिश्चितता दिन सकिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्