images
images

एडिबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि दर सुस्त रहने प्रक्षेपण गरेको छ । एडिबीले आफ्नो ‘एसियन डेभलपमेन्ट आउटलुक २०२६’ मार्फत नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित रहने जनाएको हो, जुन अघिल्लो आर्थिक वर्षको ४.६ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा कम हो ।

एडिबीका नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाका अनुसार राजनीतिक अनिश्चितता, नागरिक अशान्ति तथा मध्यपूर्वमा जारी द्वन्द्वले अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ । उनले राजनीतिक स्थायित्व कायम भएमा लगानीकर्ताको आत्मविश्वास बढ्ने र अर्थतन्त्रमा सुधार आउने अपेक्षा व्यक्त गरेका छन् ।

एडिबीले विद्यमान चुनौतीका बाबजुद आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन क्षेत्रको सुधारसँगै आगामी आर्थिक वर्ष २०८३/८४ मा आर्थिक वृद्धि दर ५ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ ।

मुद्रास्फीति चालू वर्षमा करिब ३.७ प्रतिशत रहने र आगामी वर्ष ४.५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । चालू खाता बचत भने चालू वर्षमा कुल गार्हस्थ उत्पादन (जिडिपी)को ७.२ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ६.७ प्रतिशतभन्दा केही बढी हो ।

तर, रेमिट्यान्समा सम्भावित गिरावट, इन्धन मूल्यवृद्धि तथा पर्यटन क्षेत्रमा पर्ने असरका कारण आगामी वर्ष चालू खाता बचत घटेर ५.३ प्रतिशतमा सीमित हुने एडिबीले जनाएको छ ।

एडिबीले आफ्नो प्रक्षेपण उच्च अनिश्चितता र जोखिमका बीच तयार गरिएको उल्लेख गर्दै मध्यपूर्वको द्वन्द्व लम्बिए पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव, विप्रेषणमा कमी र आर्थिक गतिविधिमा थप दबाब पर्न सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्