images
images

पेट्रोल, डिजेल र ग्यासमा भारी मूल्यवृद्धि, उपभोक्ता थप मारमा

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि निगमले घाटा कम गर्न नयाँ मूल्य समायोजन गरेको जनाएको छ।

नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँले मूल्य बढाइएको छ। अब पेट्रोलको मूल्य विभिन्न स्थानअनुसार प्रतिलिटर २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

यस्तै, एलपी ग्यासको मूल्य पनि बढेर १४.२ केजी सिलिन्डरको २०१० रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।

निगमका अनुसार मूल्य वृद्धि गरे पनि अझै ठूलो घाटा रहेको छ। पेट्रोलमा प्रतिलिटर करिब १६ रुपैयाँभन्दा बढी, डिजेलमा १० रुपैयाँभन्दा बढी र ग्यासमा प्रति सिलिन्डर ४ सय रुपैयाँभन्दा बढी घाटा रहेको उल्लेख गरिएको छ। कुल मिलाएर निगमलाई पाक्षिक रूपमा अर्बौं रुपैयाँ घाटा हुने अवस्था रहेको जनाइएको छ।

निगमले घाटा निरन्तर बढेमा भारतको Indian Oil Corporation लाई भुक्तानी गर्न समस्या आउन सक्ने र त्यसले इन्धन आपूर्तिमा असर पार्न सक्ने चेतावनी दिएको छ।

यसैबीच, उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्