images
images

नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको सन्देश: कर्तव्यनिष्ठ र अनुशासित बनौँ

भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण पूरा गरी अधिकृत बन्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पणका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको सीमाभित्र रही कर्तव्यप्रति सधैं सजग रहनुपर्ने बताए । फरक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै सक्षम र एकीकृत टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सक्षम हुने विश्वास पनि उनले व्यक्त गरे ।

समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गरेका थिए । उनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १८३ अधिकृत क्याडेटले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

यसै अवसरमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन शिक्षार्थी अधिकृत क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गरे ।

नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट तथा पदिक र बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना र १ हजार ६०८ प्राविधिक अधिकृतहरूले तालिम पूरा गरिसकेका छन् । सन् २०१२ देखि विदेशी शिक्षार्थीहरूलाई पनि सहभागी गराउँदै आएको यस प्रतिष्ठानबाट हालसम्म विभिन्न देशका ३२ जनाले तालिम सम्पन्न गरेका छन् ।

समारोहमा नवआयुक्त अधिकृतहरूलाई अभिभावक तथा आफन्तजनहरूले सुशोभन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्