ललितपुर । पाटन दरबार स्क्वायरमा बुधबार साँझ भएको चक्कु प्रहार घटनामा दुई दाजुभाइको ज्यान गएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सुमित नेम्वाङ (३३) र सिर्जन नेम्वाङ (२६)बीच सामान्य फोन सम्बन्धी विवादपछि घटना भएको हो । एउटालाई गर्न खोजिएको फोन अर्कै नम्बरमा लागेपछि उत्पन्न विवादले उग्र रूप लिएको बताइएको छ ।
प्रहरीका अनुसार गल्ती भएको भन्दै माफी माग्न र विवाद समाधान गर्न दाजुभाइ घटनास्थल पुगेका थिए । तर, उनीहरूको कुरा नसुनी त्यहीँको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनमाथि चक्कु प्रहार गरेका थिए ।
भाइलाई बचाउन गएका सुमितमाथि पनि आक्रमण हुँदा दुवै गम्भीर घाइते भएका थिए । घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो भने घाइते दुवैलाई तत्काल बिएण्डबी अस्पताल लगिएको थियो । चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
घटनापछि फरार भएका सञ्जीव नेपालीलाई नजिकैको एक रेस्टुरेन्टमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गर्ने क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहारको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ ।
मृतक दाजुभाइ ललितपुरको इमाडोलका बासिन्दा हुन् । प्रारम्भिक जानकारीअनुसार उनीहरू आमा भेट्न लन्डन जाने तयारीमा रहेका थिए ।












प्रतिक्रिया दिनुहोस्