काठमाडौं । लामो समयदेखि थाँती रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आगामी असार मसान्तभित्रै छापिसक्ने सरकारको लक्ष्य रहेको छ । ट्रायल पास गरेपछि पनि वर्षौँसम्म लाइसेन्स नपाउने समस्या समाधान गर्न सरकारले छपाइ कार्यलाई तीव्रता दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागका अनुसार, नयाँ सरकार गठनपछि लाइसेन्स छपाइ कार्यमा उल्लेखनीय प्रगति भएको छ । विभागले असारभित्र सबै बाँकी लाइसेन्स छापेर वितरण गर्ने लक्ष्य लिएको छ भने साउनदेखि ट्रायल पास गरेका सेवाग्राहीलाई २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने तयारी गरिएको जनाएको छ ।
विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ, जुन अघिल्लो दरभन्दा निकै बढी हो । यसअघि दैनिक १५ सयदेखि २ हजारसम्म मात्र लाइसेन्स छापिने भएकाले ठूलो संख्यामा काम थाँती रहँदै आएको थियो ।
हाल करिब ३० लाख लाइसेन्स छपाइ हुन बाँकी रहेको विभागले जनाएको छ । यसलाई छिटो सम्पन्न गर्न सरकारले छपाइ क्षमता विस्तार गर्दै कार्यलाई तीव्र बनाएको हो । लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिइएको छ, जसअनुसार केन्द्रसँग १२ लाख लाइसेन्स छाप्ने सम्झौता गरिएको थियो ।
सम्झौताअनुसार हालसम्म केन्द्रले करिब ३ लाख लाइसेन्स छापेर विभागलाई पठाइसकेको छ भने थप ४ लाख लाइसेन्स छपाइका लागि विवरण पठाइएको छ । अघिल्लो समय डाटा र मेसिनमा क्षति पुगेपछि सरकारले केन्द्रमार्फत छपाइ प्रक्रिया अघि बढाएको थियो ।
यद्यपि, मेसिनको क्षमता प्रतिघण्टा २५०० लाइसेन्स छाप्न सक्ने भए पनि आवश्यक डाटा समयमै नपुग्दा अपेक्षित गति लिन सकेको थिएन । अहिले भने विभाग आफैंले पनि मेसिन खरिद गरेर छपाइ प्रक्रिया अगाडि बढाइरहेको छ ।
सरकारले शासकीय सुधारअन्तर्गत १०० दिनभित्र घरघरमै लाइसेन्स पुर्याउने योजना समेत अघि सारेको छ । यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घटाउने अपेक्षा गरिएको छ ।
यो योजना सफल भएमा लामो समयदेखि लाइसेन्सका लागि कुर्नुपर्ने समस्या अन्त्य हुने विश्वास सरकारको छ ।













प्रतिक्रिया दिनुहोस्