images
images

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले निष्काशन अवधि बैशाख ७ गतेसम्म तोके पनि मागभन्दा बढी आवेदन परेपछि आज बैंकिङ समयपछि नै आवेदन बन्द गर्ने जनाएको छ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको हो।

उक्त शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित बुंगल नगरपालिका वडा नं. १, २ र ४ का अति प्रभावित बासिन्दामा बाँडफाँट गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दालाई वितरण गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। इक्रा नेपाल ले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।

कम्पनीले ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। परियोजनाको विद्युत उत्पादन अनुमति अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्