काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने अनुमान गरेको छ। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख देखिएको कार्यालयले जनाएको छ।
तथ्यांकअनुसार विद्युत् उत्पादन र वितरण विस्तारका कारण ऊर्जा क्षेत्रमा सबैभन्दा उच्च २२.७४ प्रतिशत वृद्धि भएको छ। वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रमा ९.६५ प्रतिशत वृद्धि देखिएको छ।
अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रमा भने २.२१ प्रतिशतको सामान्य वृद्धि हुने अनुमान गरिएको छ। धान उत्पादनमा केही गिरावट आए पनि पशुपालन, फलफूल र तरकारी उत्पादन बढ्दा कृषि क्षेत्र सकारात्मक रहेको जनाइएको छ। त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशत र आवास तथा भोजन सेवामा ५.१८ प्रतिशत वृद्धि भएको छ।
मौसमी समायोजनअनुसार पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा समग्र अर्थतन्त्र २.०४ प्रतिशतले बढेको छ। १८ औद्योगिक वर्गीकरणमध्ये १६ क्षेत्रमा सुधार देखिए पनि निर्माण सामग्री आयातमा कमी र केही स्वदेशी उत्पादन घटेकाले समग्र वृद्धिदर सीमित भएको कार्यालयले उल्लेख गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालय ले सन् २०१०/११ लाई आधार वर्ष मानेर स्थिर मूल्यमा यो अनुमान तयार पारेको हो। पानी आपूर्ति, फोहोर व्यवस्थापन, सार्वजनिक प्रशासन र शिक्षा क्षेत्रमा भने न्यून वृद्धि देखिएको छ।
समग्रमा ऊर्जा र वित्तीय क्षेत्रको विस्तारका कारण अर्थतन्त्र संकुचनबाट जोगिँदै क्रमशः विस्तारतर्फ अघि बढेको संकेत देखिएको छ।













प्रतिक्रिया दिनुहोस्