काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदै छ भने उत्तरपुस्तिका परीक्षण पनि सोही दिनदेखि सुरु गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख मसान्तसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै छन्। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य रहेका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन्। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् भने जापानस्थित एभरेस्ट स्कुलबाट २३ विद्यार्थीले परीक्षा दिँदै छन्।
यसपटक उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गर्ने व्यवस्था मिलाइएको छ। परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र सम्बन्धित केन्द्रमै परीक्षण गरिनेछ। आवश्यक परे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा ल्याएर पनि परीक्षण गर्न सकिने व्यवस्था गरिएको छ।
शिक्षा सचिव चूडामणि पौडेलका अनुसार तोकिएको समयभित्र उत्तरपुस्तिका परीक्षण गरी प्राप्तांक बोर्डमा पठाइनेछ र त्यसपछि नतिजा प्रकाशन गरिनेछ। एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित करिब ७३ हजार जनशक्ति परिचालन गरिएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
परीक्षा हलमा मोबाइल, स्मार्ट घडीजस्ता विद्युतीय उपकरण प्रयोग गर्न निषेध गरिएको छ। अपांगता भएका, सुत्केरी तथा किरियापुत्री परीक्षार्थीका लागि आवश्यक सहजीकरणको व्यवस्था मिलाइएको छ।
यसअघि उत्तरपुस्तिका अन्तरजिल्ला तथा प्रदेशस्तरमा परीक्षण गरिँदा नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको थियो। यसपटक सस्मित पोखरेलको निर्देशनअनुसार छिटो नतिजा ल्याउन केन्द्रमै परीक्षणको व्यवस्था गरिएको हो।
एसईई २९ चैतसम्म सञ्चालन हुनेछ। नियमित र ग्रेडवृद्धि दुवै समूहको परीक्षा एउटै तालिकाअनुसार सञ्चालन हुनेछ।











प्रतिक्रिया दिनुहोस्