images
images

अन्तर्राष्ट्रिय संकटबीच नेपालमा विद्युतीय सवारीको माग बढ्दो

काठमाडौं । अमेरिका, इजरायलइरानबीचको युद्ध पाँचौँ हप्तामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। सोमबार बिहान तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको छ।

इरान समर्थित हुथी विद्रोहीहरू युद्धमा प्रत्यक्ष सहभागी भएपछि तथा इरानले होर्मुज जलडमरू अवरुद्ध पार्ने चेतावनी दिएपछि विश्व ऊर्जा बजारमा अस्थिरता बढेको हो। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने मार्ग प्रभावित हुने जोखिमका कारण आगामी हप्तामा तेलको मूल्य प्रति ब्यारेल १३० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ। चैत महिनामै पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र डिजेल २५ रुपैयाँले वृद्धि भइसकेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि र विदेशी मुद्रा सञ्चितिमा परेको दबाबबीच नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा बढ्न थालेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालले १९ हजार ४७७ युनिट विद्युतीय सवारी आयात गरेको छ। यसका लागि कुल १६ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ बाहिरिएको छ। इन्धनको मूल्य बढेसँगै उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भएका कारण यस्तो वृद्धि देखिएको हो।

इभी आयातमा चीनको वर्चस्व देखिएको छ। आठ महिनामा चीनबाट मात्रै १६ हजार ३६१ युनिट सवारी ११ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीमा आयात भएको छ। भारतबाट २ हजार ६५० युनिट (३ अर्ब ४४ करोड रुपैयाँ) र थाइल्याण्डबाट ४४० युनिट (१ अर्ब २४ करोड रुपैयाँ) सवारी आयात भएका छन्।

यसै अवधिमा जर्मनी, अमेरिका, दक्षिण कोरिया, अस्ट्रियाबेलायतबाट सीमित संख्यामा विद्युतीय सवारी भित्रिएका छन्।

इभी आयातसँगै राज्यको राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। आठ महिनामा मात्रै इभीबाट ९ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ, जसमा चीन र भारतबाट आयातित सवारीको हिस्सा प्रमुख रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढिरहँदा नेपालमा इभी प्रयोगको बढ्दो प्रवृत्तिले ऊर्जा सुरक्षा सुदृढ बनाउन, पेट्रोलियम पदार्थमा निर्भरता घटाउन तथा वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्