images
images

ओलीको रिहाइ माग्दै बस्नेतको चेतावनी, आन्दोलन थप सशक्त हुने

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई पूर्वाग्रह र प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै बस्नेतले सरकारको पछिल्लो निर्णयप्रति कडा असन्तुष्टि जनाएका हुन् । उनले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भएको दाबी गर्दै गलत निर्णयको मूल्य महँगो पर्ने बताएका छन् ।

बस्नेतले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै प्रश्न गरेका छन्, ‘के देशलाई गृहयुद्धतर्फ लैजान खोजिएको हो? देशलाई पाकिस्तान, बंगलादेश वा युक्रेनको मोडेलतर्फ लैजाँदैछ?’ उनले सरकारको कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले अघिल्ला घटनामा सरकारी संरचनामा भएको तोडफोड र आगजनीप्रति सरकारको भूमिका प्रश्न गर्दै अहिले भइरहेको शान्तिपूर्ण आन्दोलनमा दमन भइरहेको आरोप समेत लगाए । साथै, तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिको विषयमा समेत स्पष्टता दिन माग गरेका छन् ।

बस्नेतले आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न र पक्राउ परेकाहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन् ।

यही अवस्था कायम रहेमा देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्ने चेतावनी उनले दिएका छन् । साथै, आजको प्रहरी हस्तक्षेपविरुद्ध भोलि पनि काठमाडौंको माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन जारी रहने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्