images
images

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको हो। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएसपी सन्तोष खड्काको नेतृत्वमा गएर पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।

यसै घटनासँग सम्बन्धित रूपमा तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि भक्तपुरकै कुटुन्जेबाट बिहानै पक्राउ गरिएको छ।

भदौ २३ मा भएको जेनजी आन्दोलन का क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा अनुसन्धान गर्न दुवै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ। यस विषयमा केही पीडित परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।

जाँचबुझ आयोगको प्रतिवेदनमा ओली, लेखक तथा पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार ‘हेलचेक्र्याईं गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको थियो। उक्त कसुर प्रमाणित भएमा ३ वर्षसम्म कैद र जरिवाना हुने कानुनी व्यवस्था छ।

नयाँ प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिइएको थियो।

प्रहरीले तत्काल अदालतको अनुमति नलिई जरुरी पक्राउ पुर्जीका आधारमा ओलीलाई नियन्त्रणमा लिएको जनाएको छ। अब उनलाई स्वास्थ्य परीक्षणपछि हिरासतमा राखिनेछ र २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने प्रक्रिया अघि बढ्नेछ।

नेपालको इतिहासमा पूर्वकार्यकारी प्रमुखलाई ज्यान मुद्दामा पक्राउ गरिएको यो पहिलो घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्