काठमाडौं । जल तथा मौसम विज्ञान विभाग का अनुसार सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज बिहानैदेखि देशका विभिन्न भागमा वर्षा र हिमपात सुरु भएको छ। पश्चिमबाट प्रवेश गरेको यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको र यसको प्रभाव अहिले चितवन क्षेत्रसम्म आइपुगेको विभागले जनाएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थ का अनुसार सुदूरपश्चिम प्रदेश का डडेलधुरा, डोटी, बाजुरा तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का गुल्मी, कास्की, तनहुँ र पाल्पा लगायत जिल्लामा बिहानैदेखि वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
हाल मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा पूर्ण बदली छ भने कोशी प्रदेश र गण्डकीमा आंशिक बदली रहेको मौसम विभागले जनाएको छ।
आज दिनभर कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यो मौसमी प्रणाली अझै केही दिन कायम रहने अनुमान गरिएको छ।










प्रतिक्रिया दिनुहोस्