काठमाडौं । सुदूरपश्चिम सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा ६ महिनादेखि सम्पर्कमा नआएपछि सुदूरपश्चिम प्रदेशसभा सचिवालयले उनको तलब–सुविधा रोक्का गरेको छ। देउवा गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि प्रदेशसभा सचिवालयको सम्पर्कमा नरहेको बताइएको छ।
देउवानिकट नेपाली कांग्रेस कैलालीका नेताहरूका अनुसार आन्दोलनको चार दिनपछि उनी अमेरिका उडेका थिए। उनले ११ माघमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनअघि नै नेपाल फर्किने बताएका थिए, तर हालसम्म फर्किएका छैनन्। स्रोतका अनुसार उनले अब एक साताभित्र नेपाल आउने बताएका छन्।
देउवा झण्डै सात महिनादेखि प्रदेशसभा बैठकमा पनि उपस्थित छैनन्। सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को धारा १९३ अनुसार लगातार १० बैठकमा बिनासूचना अनुपस्थित भए सदस्य पद रिक्त हुन सक्ने प्रावधान छ। तर पछिल्लो सात महिनामा सातवटा मात्रै बैठक बसेकाले उनको पद भने यथावत् रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
देउवा शेरबहादुर देउवा का भतिजा हुन्। २०७९ को प्रदेशसभा निर्वाचनमा विजयी भएका उनी मुख्यमन्त्री बन्ने आकांक्षामा थिए। तर दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेपछि देउवा भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। पछिल्लो समय मुख्यमन्त्री शाहसँग उनको सम्बन्धमा पनि तनाव बढेको चर्चा सुदूरपश्चिममा हुँदै आएको छ।














प्रतिक्रिया दिनुहोस्