काठमाडौं । रवि लामिछाने माथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि आइतबार सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसँग सम्बन्धित उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा हुने भएको हो।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारी ले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। गत पुस ३० गते उनले लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा मात्र अभियोग चलाउन निर्देशन दिएकी थिइन्।
महान्यायाधिवक्ताको उक्त निर्देशन बदनियतपूर्ण भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्।
सहकारीको बचत रकम अपचलनसम्बन्धी प्रकरणमा लामिछानेमाथि विभिन्न जिल्लामा अनुसन्धान तथा अदालती प्रक्रिया जारी छ। आइतबार सर्वोच्च अदालतमा हुने सुनुवाइले महान्यायाधिवक्ताको निर्देशन कायम रहने वा नरहने भन्नेबारे निर्णय हुने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्