images
images

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान हेरफेर गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएको र ठूलो जनमत प्राप्त गरेपछि दलको नेतृत्व पनि उनैलाई दिन आवश्यक भएको बताएको छ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले पार्टीले चुनावअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भएकाले संसदीय दलको नेता बनाउन विधानका आवश्यक प्रावधान परिमार्जन गरिने बताएकी छन्। अहिले विधानमा रहेका व्यवस्थाबारे अध्ययन गरेर के–कस्ता संशोधन गर्नुपर्छ भन्ने विषयमा छलफल गरिने उनले बताइन्।

रास्वपाको विधानको धारा ६६ अनुसार प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि पार्टीका उम्मेदवारबीच निर्वाचन हुने व्यवस्था छ। त्यसमा दल नेता चयनका लागि पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान रहेको छ, जसलाई संशोधन गरेर नयाँ व्यवस्था ल्याउने तयारी पार्टीले गरेको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै १८२ सिट जितेको थियो। पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको जनाएको छ। हाल समानुपातिक उम्मेदवार छनोटका विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच अनौपचारिक छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्