काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जन फेरि अवरुद्ध भएको छ। नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका स्थानीय बासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न रोक लगाएका हुन्।
स्थानीयका अनुसार काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग भएको सहमति कार्यान्वयन नभएकाले फोहर बोकेर पुगेका गाडीलाई फिर्ता पठाइएको छ।
यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयसँग भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको थियो। तर ती सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले पुनः फोहर विसर्जन रोक्ने निर्णय गरेका हुन्।
नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिका वडा नम्बर १, ३ र ४ का प्रभावित स्थानीय दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडी रोकेका छन्।
ककनी, बेलकोटगढी र धुनीबेँसीका स्थानीय जनप्रतिनिधि तथा विभिन्न दलका नेताहरूले समेत स्थानीयको मागमा समर्थन जनाएका छन्।












प्रतिक्रिया दिनुहोस्