images
images

नेपाल अब युवा नेतृत्व र प्रविधिको सहायतामा द्रुत विकासमा अघि बढ्नेछ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपाल द्रुत गतिमा विकासको यात्रामा अघि बढ्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन्। भारतमा आयोजित एनएक्सटीटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रमा सम्बोधन गर्दै उनले भने, “उदाएको नयाँ पुस्ताले पुरानो राजनीतिक प्रणाली र पुराना नेताहरूविरुद्ध विद्रोह गर्ने हिम्मत गरेको छ। उनीहरू देशको नेतृत्व सम्हाल्न अघि सरेका छन् र म यसमा निकै गर्व गर्छु।”

भट्टराईले नेपाल अब भारत र चीनबीच ‘च्यापिएको’ देश नरही दुई ठूला अर्थतन्त्रलाई जोड्ने जीवन्त पुल बन्ने बताए। उनले बदलिँदो भूराजनीति र प्रविधिको विकाससँगै नेपालले आफ्नो परराष्ट्र नीति परिमार्जन गर्दै दुवै छिमेकीबाट लाभ लिनुपर्नेमा जोड दिए।

सत्रमा स्विडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड र अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मौरिसनसँगै आफ्ना धारणा राख्दै भट्टराईले नेपालमा पछिल्लो युवा जागरण र राजनीतिक विद्रोहप्रति आफ्नो गर्व व्यक्त गरे। उनले भने, “नेपाल लोकतन्त्र र खुलापनको मामिलामा झन्डै सय वर्ष पछाडि परेको देश थियो। तर अहिले प्रविधि, इन्टरनेट र कृत्रिम बौद्धिकताको पहुँच गाउँ–गाउँसम्म पुगेको छ। यससँगै उदाएको नयाँ पुस्ताले देशको नेतृत्व सम्हाल्न हिम्मत देखाएको छ।”

भट्टराईले अब नेपाल विकासको पिँधमा नरहने र विश्वसँगै द्रुत गतिमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे। उनले चौथो औद्योगिक क्रान्ति, प्रविधिको विकास र कृत्रिम बौद्धिकताले राजनीतिक प्रणालीको अवधारणालाई नै बदल्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार परम्परागत प्रतिनिधिमूलक लोकतन्त्र अब पर्याप्त छैन र अनुगमनमुखी, समावेशी र सहभागितामूलक लोकतन्त्र अभ्यास गर्नुपर्ने समय आएको छ।

सत्रमा पूर्वप्रधानमन्त्रीहरूले विश्वको बदलिँदो शक्ति सन्तुलन, इन्डो–प्यासिफिक क्षेत्रको महत्त्व, प्रविधिले ल्याएको अवसर र चुनौती लगायतका विषयमा गहन छलफल गरेका थिए। भट्टराईको भनाइले नेपालमा उदाउँदो युवा नेतृत्व र प्रविधिमैत्री विकास दृष्टिकोणको महत्वलाई जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्