images
images

तनावका बीच इरानले २०२६ को विश्वकप बहिष्कार गर्ने

काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र सुरक्षा चुनौतीका बीच इरानले सन् २०२६ को विश्वकप बहिष्कार गर्ने घोषणा गरेको छ। इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देश प्रतियोगिताबाट पछि हट्ने निर्णय सार्वजनिक गरेका हुन्।

उनका अनुसार प्रतियोगिताका सह–आयोजक अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा हवाई आक्रमण गरेपछि यस्तो परिस्थिति सिर्जना भएको हो। खेलाडीहरूको सुरक्षा सुनिश्चित नभएकाले यस्तो अवस्थामा प्रतियोगितामा सहभागी हुन नसकिने उनले बताएका छन्।

यसैबीच अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको दाबीपछि मध्यपूर्व क्षेत्रमा तनाव झनै बढेको छ।

सन् २०२६ को विश्वकपमा इरान समूह ‘जी’ मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग रहेको थियो। तर इरानले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेसँगै समूह चरणको समीकरणमा असर पर्ने देखिएको छ। यस विषयमा इरानी फुटबल संघ र अन्तर्राष्ट्रिय फुटबल महासंघले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

सन् २०२६ को विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ। यसपटक पहिलो पटक ४८ टोली सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्