सुर्खेतकी १६ वर्षीया इनिसा बिकको बलात्कारपछि हत्या भएको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान जिल्लास्तरबाटै सम्पन्न भइसकेको जनाउँदै थप प्राविधिक अनुसन्धानका लागि सिआइबीको सहयोग लिएको हो। प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।
उनका अनुसार घटनासम्बन्धी पोस्टमार्टम रिपोर्ट आइसकेको छ भने पीडित र शंकास्पद पक्षका मोबाइल फोन लगायत विद्युतीय सामग्री अनुसन्धानका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको छ। साथै केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि नमुना पठाइएको उनले बताए। “यी सबै परीक्षणको रिपोर्ट प्राप्त भएपछि घटनाबारे अन्तिम निष्कर्षमा पुग्न सहज हुनेछ,” प्रहरी उपरीक्षक शाहीले भने।
यसैबीच जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विज्ञ टोली गठन गरिनुका साथै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ परीक्षण गर्ने टोलीसमेत सुर्खेत पुगेको छ।
प्रहरीका अनुसार पोलिग्राफ परीक्षणमार्फत बयानको सत्यता परीक्षण गरिनेछ। घटनाको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स र किशोर–किशोरीबीच भएका विद्युतीय संवाद लगायतका प्रमाणको आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्